श्रेणी : अर्थ
काठमाडौं । यस वर्षको बडादसैँमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिए । कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो एक हजार एक सय ५० रुपैयाँमा खरिद गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।
कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसैँ अघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ । ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया