श्रेणी : प्रदेश
काठमाडौं,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानूनलाई सच्याउनुपर्ने आवश्यकता भएपनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बालुवाटारमा बधाई दिने क्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइएकोमा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारे ।
उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरुले २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो गर्ने मनसाय नरहेको बताए ।
उनले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस्को विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए ।
यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया