
श्रेणी : प्रदेश
काठमाडौं,१६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन र खनिजयुक्त उत्पादनहरूको बिक्री तथा वितरणमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।
आज जारी विज्ञप्तिमा मन्त्रालयले यस्ता अवैध सामग्री तथा सेवाहरू सञ्चालन नगर्न आग्रह गर्दै उल्लङ्घन गर्ने निकाय तथा व्यक्तिहरूलाई कानुनी कारबाही गरिने जनाएको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ अनुसार शारीरिक वा मानसिक स्वास्थ्यलाई असर गर्ने गलत वा भ्रामक सूचनाका आधारमा उत्पादन र प्रचारप्रसार गर्न निषेध गरिएको उल्लेख गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वार्षिक तीन हजारभन्दा बढी फार्मेसी अनुगमन र करिब सयभन्दा बढी मुद्दा जिल्ला अदालतमा दर्ता गरिएको जानकारी दिए। उनले न्युट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता नगरेको र यस्ता उत्पादन जफत तथा कारबाहीको प्रक्रिया निरन्तर रहेको बताए।
प्रवक्ता बुढाथोकीका अनुसार यस्तो अनियमितता भेटिएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गर्न वा मन्त्रालयको वेबसाइट तथा इमेलमार्फत गुनासो गर्न सकिनेछ।

प्रतिक्रिया