वीरगन्ज :

दरबन्दी बिना नारायणी अस्पतालमा कार्यरत ४७ स्वास्थ्यकर्मी एवं कर्मचारीलाई सेवाबाट हटाइयो

श्रेणी : BANNER

7 months
Pradeep Sah
3.0kViews
1563 Shares

वीरगंज (पर्सा), २१ जेठ । नारायणी अस्पतालमा दरबन्दी बिना कार्यरत चिकित्सक, स्टाफ नर्ससहित ४७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई सेवाबाट हटाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. एनामुल हकले दरबन्दी विना कार्यरत चिकित्सक एवं कर्मचारीहरुलाई सोमबारदेखि सेवाबाट हटाएका हुन् । अस्पतालमा सोमबार बसेको बैठकले लामो समयदेखि दरबन्दी बिना अस्पतालमा कार्यरत दैनिक ज्यालादारी ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलाई हटाउने निणर्य गरेको थियो ।

सोही निणर्य अनुसार सोमबार अस्पताल प्रशासनले सूचना जारी गर्दै जेठ २२ गतेदेखि ति स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई अस्पतालबाट हटाइएको सूचना अधिकारी सुनिल रौनियारले जानकारी दिए । उनका अनुसार अस्पतालबाट हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना, सातौं तहका मेडिकल अधिकृत १ जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना, रेडियोग्राफर ५ जना, अहेब ४ जना तथा कार्यालय सहयोगी ७ जना रहेका छन् ।

अस्पताल प्रशासनले सोमबार जारी गरेको सूचनामा अस्पतालमा दरबन्दी बिना सिफारिसका आधारमा नियुक्त भई दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वास्थ्यकर्मी एवं कर्मचारीको यही जेठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको निणर्य गरिएको उल्लेख छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्ड डा. हकले दरबन्दी बिना दैनिक ज्यालादारीमा कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीहरुका कारण अस्पताललाई आर्थिक भार थपिएकोले उनीहरुलाई सेवाबाट हटाइएको बताए ।

उनका अनुसार एक त दरबन्दी बिना कार्यरत, त्यसमा पनि आवश्यक्ता भन्दा बढि कर्मचारी अस्पताललाई आवश्यक नरहेको र उनीहरुलाई ६/७ महिनादेखि तलब भत्ता पनि अस्पतालले दिन नसकेको अवस्थालाई मध्यनजर गर्दै उनीहरुलाई सेवाबाट हटाइएको बताए । तत्कालीन निमित्त मेसु डा. चित्तरन्जन साहको कार्यकालमा दरबन्दी बिना दैनिक ज्यालादारीमा १ सय ५० जना भन्दा बढी स्वास्थ्यकर्मी एवं कर्मचारी नियुक्त गरिएको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *