
श्रेणी : प्रदेश
काठमाडौं,२६ जेठ । दरबन्दीभन्दा बढी कर्मचारी खटाइएको विषयमा चासो व्यक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।
गत जेठ २१ गते जारी गरिएको पत्रमार्फत प्रधानमन्त्री कार्यालयले यी दुई मन्त्रालयलाई दरबन्दीअनुसार नै कर्मचारी पदस्थापन गर्न र सात दिनभित्र आवश्यक व्यवस्थापन गर्न स्पष्ट निर्देशन दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय, केही जिल्ला प्रशासन कार्यालयहरू लगायतका निकायमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी परिचालन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले त्यसको जानकारी प्रधानमन्त्री कार्यालयलाई गराएपछि उक्त निर्देशन आएको हो।
गृह मन्त्रालयअन्तर्गतका विभिन्न निकायहरूमा कर्मचारी व्यवस्थापनमा अनियमितता देखिएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो जनाएको छ। विशेषगरी अध्यागमन कार्यालयका प्रमुख तथा गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई भिजिट भिसा प्रकरणमा मुछिएपछि सरकार थप सतर्क बनेको देखिएको छ।
प्रधानमन्त्री कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी राख्नुले सेवा प्रवाहमा असर पुर्याउने मात्र होइन, पारदर्शितामाथि पनि प्रश्न उठ्ने भन्दै व्यवस्था तुरुन्त सुधार गर्न निर्देशन दिएको हो। साथै, आवश्यक ठाउँमा दरबन्दी रिक्त रहँदा जनसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउनु नीतिगत हिसाबले पनि अनुचित भएको सरकारको भनाइ छ।


प्रतिक्रिया