
श्रेणी : प्रदेश
काठमाडौं,२४ जेठ । भारतबाट सुदूरपश्चिम फर्किएका नेपालीहरूमा कोरोना संक्रमण फेरी देखिन थालेको छ। पछिल्ला तीन दिनमा कैलालीस्थित गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण पुष्टि भएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार, शुक्रबार मात्रै भारतबाट आएका ३० जनाको एन्टिजेन परीक्षण गर्दा पाँच महिलामा संक्रमण देखिएको हो। ती संक्रमितमध्ये तीन जना कैलाली र दुई जना अछामका बासिन्दा हुन्। उनीहरूलाई हाल होम क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ।
यसअघि दुई दिनअघि पनि यस्तै परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको थियो। त्यसअनुसार, पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या आठ पुगेको छ।
जोशीका अनुसार, अधिकांश संक्रमितमा सामान्य ज्वरो, रुघाखोकीजस्ता लक्षण देखिएका छन्। एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएका सबैको घाँटीको नमूना (थ्रोट स्वाब) संकलन गरी थप पुष्टि परीक्षणका लागि काठमाडौं पठाइएको छ।
भारतसँगको प्रमुख सीमा नाका गौरीफन्टामा तीन दिनदेखि हेल्थ डेस्कमार्फत यात्रुहरूको स्वास्थ्य परीक्षण र एन्टिजेन परीक्षण नियमित रूपमा हुँदै आएको छ। संक्रमण दर पुनः बढ्न थालेपछि सीमा नाकामा निगरानी कडा पारिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रदेश स्वास्थ्य कार्यालयले भारतबाट फर्किने सबै यात्रुहरूलाई अनिवार्य स्वास्थ्य परीक्षण गराउन, कुनै लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग, सामाजिक दूरी कायम गर्नु र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य अधिकारीहरूले आह्वान गरेका छन्।


प्रतिक्रिया