काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्र अध्यक्ष पदकी उम्मेदवार पद्मा भुसाल धर्नामा बसेकी छिन् ।
उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन कार्यालय अगाडि आँखामा कालोपट्टी बाँधेर विरोधस्वरूप धर्ना दिएकी हुन्। त्रिवि स्ववियु निर्वाचन आगामी चैत ८ गते का लागि तोकिए पनि निर्वाचन कार्यतालिका अनुसार प्रक्रिया अघि नबढेकाले आफू धर्नामा बस्न बाध्य भएको भुसालले बताइन् ।
भुसालले त्रिवि प्रशासनलाई निर्वाचन प्रक्रियालाई बेवास्ता गरेको, स्वार्थअनुसार निर्वाचन समितिलाई प्रयोग गरिएको आरोप लगाइन्। उनले भनिन्, “त्रिविमा तालाबन्दी हुँदा पनि प्रशासन मौन छ। अहिलेसम्म यस्तो निरीह र कमजोर प्रशासन देखेको थिइनँ ।”
नेविसंघकै अनोज कार्की समूहले त्रिवि प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको छ। निर्वाचन समितिले कार्की समूहलाई आधिकारिकता नदिएपछि उनीहरू आक्रोशित भएका हुन्। यसले निर्वाचन प्रक्रियामा थप अन्योल पैदा गरेको छ ।
यसअघिको स्ववियु निर्वाचनमा नेविसंघबाट कोषाध्यक्षमा निर्वाचित भएकी भुसाल यो पटक स्वतन्त्र रूपमा अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन्। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेकी उनले निर्वाचनको सुनिश्चितता नभएसम्म आफ्नो धर्ना जारी रहने चेतावनी दिएकी छन् ।
प्रतिक्रिया