
श्रेणी : समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको गएरातिदेखि मौन अवधि सुरु हुने भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारले गएरातिदेखि स्ववियु चुनावको प्रचार–प्रसार गर्न नपाउने बताए । उनले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको जानकारी दिए ।
आइतबार हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको लागि मात्र प्रचार–प्रसारको समय छुट्याइएको थियो । निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवार मनोनयनपत्र दर्ता गरिएको थियो । स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्नका लागि रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावलीको एफोर साइजको एकै रङ भएको पर्चामात्र प्रचार–प्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । स्ववियु निर्वाचनका लागि ६२ आङ्गिक र एक हजार ४० क्याम्पसमा एकैसाथ आइतबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया