काठमाडौं,१५ चैत । नेपालका तीन पूर्वप्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तित्वहरूको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको चल–अचल सम्पत्ति, आम्दानीको स्रोत तथा पारिवारिक सम्पत्तिमाथि छानबिन अघि बढाएको हो।
यसैसँगै पूर्वमन्त्री आरजु राणा देउवा, दीपक खड्का तथा उनीहरूको परिवारका सदस्यहरू पनि अनुसन्धानको दायरामा परेका छन्। आरजु राणाका भाइ भुषण राणामाथि समेत छानबिन भइरहेको जनाइएको छ।
अनुसन्धानकै क्रममा आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो र अदालतबाट म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ।
भदौ २४ मा भएको आगजनी घटनापछि देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेपछि अनुसन्धान सुरु भएको थियो। सोही आधारमा विभागले विस्तृत अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको बताइएको छ।
प्रहरी स्रोतका अनुसार उच्च तहका नेताहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको यो प्रकरणले देशको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

प्रतिक्रिया