
श्रेणी : मधेस
जनकपुर,१४ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य नहुँदासम्म मुलुकको समुन्नत विकास सम्भव नहुने धारणा व्यक्त गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनकपुरधाममा आयोजना गरेको ‘अन्तर-सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “तीनै तहका सरकारबीच आपसी समन्वय नहुँदा कार्यान्वयनमा अन्योल बढेको छ। यसले नागरिकमा शासनप्रति नै निराशा उत्पन्न गराएको छ।”
उनले संविधान र कानुनले प्रदान गरेका अधिकारहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्दै तीनै तहका सरकारले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। सिंहले पूर्वाधार, रोजगारी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा समन्वयविना उल्लेखनीय परिणाम हासिल गर्न नसकिने बताए।
कार्यक्रममा सहभागी मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान शासन व्यवस्था लोकतान्त्रिक दृष्टिले उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा देखिने कमजोरी सहकार्यको अभावकै कारण भएको बताए। संविधान र कानुनमा उल्लेखित अधिकारहरूको व्याख्यामा पटक–पटक हुने विवादका कारण विकासको गति सुस्त भएको उनको भनाइ थियो।
प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले संघीयता सफल बनाउन तीनै तहबीच स्पष्ट भूमिका र जिम्मेवारी बाँडफाँड जरुरी रहेको बताए। “संघ र प्रदेशले नीतिगत स्पष्टता दिनुपर्छ, स्थानीय तहले कार्यान्वयनमा जिम्मेवारी लिनुपर्छ,” उनले भने, “त्यसपछि मात्रै समृद्ध मुलुकको सपना साकार हुन सक्छ।”
कार्यक्रममा पूर्व योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, स्थानीय जनप्रतिनिधि, विभिन्न पालिकाका प्रमुख तथा प्रदेश सरकारका मन्त्रीहरूको सहभागिता थियो। वक्ताहरूले संघीय संरचनाबीचको अन्तरसम्बन्ध, जिम्मेवारी बाँडफाँड, र समन्वयका अवरोधबारे आ–आफ्नो विचार राखेका थिए।


प्रतिक्रिया