वीरगन्ज, १२ फागुन । पर्साको बहुदरमाई नगरपालिका वाडा न. ४ स्थित तिलाबे खोलामा गत फागुन १० गते मृत अवस्थामा फेला परेकी महिलाको सनाखत हुन सकेकोे छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साले मृत अवस्थामा फेला परेको महिलाको शवको पहिचान र घटनाको अनुसन्धानमा सर्वसाधारणको सहयोगको अपिल गरेको छ । मृतकको नाम, ठेगाना र पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
मृतक महिला करिब २०/२५ वर्षकी रहेको प्रहरीले अनुमान गरेकाे छ । प्रहरीले मृतकको हुलिया पनि सार्वजनिक गरेको छ, जसमा उनको वर्ण गहुँगोरो, हरियोमा सेतो रङ मिसिएको जम सुट लगाएको, मझौला शरीर भएको, उचाइ ५ फिट १ इन्च रहेको, हातखुट्टामा गुलाबी नेल पोलिस र दाहिने हातमा रक्षा सूत्र (डोरी) लगाएको, साथै कपाल बाक्लो र लामो भएको उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले घटनालाई सम्भावित हत्याको प्रकरण मानेर अनुसन्धान तीव्र बनाएको छ । घटनाबारे ७७ वटै जिल्ला प्रहरी कार्यालय, प्रहरी परिसर र सीमावर्ती भारतीय क्षेत्रहरूमा समेत हुलिया परिपत्र गरिएको भए पनि हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले मृतकको फोटो, कपडा र अन्य प्रमाणहरू सार्वजनिक गर्दै अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
विशेष रूपमा आफ्नो परिवारका सदस्य, आफन्तजन वा साथीभाइ हराइरहेकाको अवस्थामा, घर वा कोठामा डेरा गरी बस्ने व्यक्ति सम्पर्कमा नरहेको अवस्थामा, कुनै उद्योग, कलकारखाना, कम्पनी, पसल वा कार्यालयमा काम गर्ने व्यक्ति/कामदार सम्पर्कमा नआएको अवस्थामा, सँगै काम गर्ने साथीभाइ सम्पर्कमा नआएको अवस्थामा र घटनाबारे कुनै जानकारी भएमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टलेका अनुसार , “यो रहस्यमयी घटनाको अनुसन्धानमा स्थानीय समुदायको सहयोग बिना पूर्णता पाउन सम्भव छैन । मृतकको पहिचान वा घटनासँग जोडिएको कुनै पनि सूचना भए तुरुन्त प्रहरीलाई सम्पर्क गर्न अनुरोध छ ।”
सूचना दिन चाहनेले नजिकको प्रहरी कार्यालय, प्रहरी हटलाइन नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रण कक्ष (९८५५०९०१३६/९८५५०९०३२९) मा सम्पर्क गर्न सक्नेछन् । प्रहरीले सूचनादाताको गोपनीयता कायम राख्ने प्रतिबद्धता पनि जनाएको छ ।
प्रहरीले यो जानकारी सामाजिक सञ्जालमा सेयर गरी अनुसन्धानमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया