वीरगन्ज :

तराईका बजारमा भारतीय नक्कली चुरोटको बिगबिगी, सरकारी राजस्वमा ठूलो घाटा

श्रेणी : अन्तर्राष्ट्रिय

1 month
Pradeep Sah
2.1kViews
1400 Shares

काठमाडौं, २५ फागुन । भारतसँग सीमा जोडिएका तराईका जिल्लामा भारतीय नक्कली चुरोटको व्यापार तीव्र रूपमा बढिरहेको छ। विशेषगरी सूर्य नेपाल प्रालिको ‘खुकुरी’ चुरोट को नक्कल गरी भारतीय चुरोट नेपाल भित्र्याइएको खुलेको छ।

सूर्य नेपाल प्रालिका अनुसार भारतको पटनामा रहेको गोल्डस्टेप टोबाको प्रालि ले राजस्व छल्ने, नक्कली अन्तःशुल्क स्टिकर टाँस्ने जस्ता गैरकानुनी तरिकाबाट नेपाली बजारमा नक्कली चुरोट बेचिरहेको छ। यसले सरकारको राजस्व संकलनमा असर परेको भन्दै कम्पनीले उद्योग विभागमा निवेदन दिएको थियो।

गृह मन्त्रालयको सहयोग माग्दै उद्योग विभागको पत्र

सूर्य नेपालले दिएको उजुरीपछि उद्योग विभागले गृह मन्त्रालयलाई पत्र लेखी उचित अनुसन्धान तथा कारबाहीको माग गरेको छ। पत्रमा पर्सा, सप्तरी, धनुषा र सुनसरीका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिन अनुरोध गरिएको छ। नक्कली चुरोटले कम्पनीको व्यापार, राज्यको कर संकलन, उपभोक्ताको स्वास्थ्य र अधिकारमा प्रत्यक्ष असर पार्ने भएकाले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने विभागको भनाइ छ।

नेपालमा चुरोटको अवैध व्यापारको बढ्दो समस्या

नेपालमा चुरोट र सुर्तीजन्य पदार्थको अवैध व्यापार वर्षेनी बढिरहेको छ। विभिन्न अध्ययन अनुसार चोरीतस्करीका चुरोटबाट ४ अर्ब १२ करोड रुपैयाँ बराबरको कर छली हुने गरेको छ भने बिँडी, खैनी र गुट्खाबाट थप ९ अर्ब ५० करोड कर छली भइरहेको अनुमान छ। कुल मिलाएर नेपाल सरकारले वार्षिक झन्डै १४ अर्ब राजस्व गुमाइरहेको आँकलन गरिएको छ।

अन्तःशुल्क तथा स्वास्थ्य जोखिम कर बढ्दा अवैध कारोबारले थप उक्साहट पाएको व्यवसायीहरूको भनाइ छ। वीरगन्ज, जनकपुर, नेपालगञ्ज लगायतका बजारहरूमा सूर्य, शिखर, खुकुरी लगायतका नेपाली ब्रान्डका नक्कली चुरोटहरू अघिल्लो वर्ष पनि जफत गरिएका थिए।

भारतीय नक्कली चुरोट यसरी पत्ता लाग्यो

तराईका बजारमा खुकुरी चुरोटको नक्कल पाइएपछि अनुसन्धान सुरु गरिएको थियो। सूर्य नेपालको प्याकेटको रंग, ट्रेडमार्क र डिजाइनभन्दा फरक देखिए पनि अन्तःशुल्क स्टिकर भने हुबहु बनाइएको पाइएको थियो। यसले नक्कली ब्रान्ड स्टिकर प्रयोग गरी सरकारी राजस्वमा नोक्सान पुर्याइएको पुष्टि भएको छ।

यस विषयमा नेपाल प्रहरीले समेत अनुसन्धान तीव्र पार्दै नक्कली चुरोट ओसारपसार गर्नेहरूमाथि निगरानी बढाएको छ। पछिल्लो समय केही स्थानमा प्रहरीले छापा मार्दै अवैध चुरोटको कारोबारमा संलग्नलाई पक्राउ गर्न थालेको छ।

सरकारले नक्कली चुरोटको कारोबार रोक्न प्रभावकारी कदम चाल्न नसकेमा नेपालमा अवैध चुरोट तस्करी अझै बढ्ने व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *