वीरगन्ज :

तबरेज अहमद पर्साको भूमि आयोगको अध्यक्षमा नियुक्त

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.5kViews
1972 Shares

वीरगन्ज,२९ पुस । सरकारले जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५८ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको जनाएको छ ।

पर्सा जिल्लाको भूमि आयोगको अध्यक्षमा तबरेज अहमद नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग आबद्ध रहेका अहमद यसअघि पनि भूमि आयोग पर्साको अध्यक्ष पदमा नियुक्त थिए ।

अहमद अध्यक्ष पदमा रहँदा उनको नेतृत्वमा जिल्लाको विभिन्न स्थानका भूमि विहीनहरूको लागि जग्गा उपलब्ध गराउनेदेखि लालपुर्जा वितरणको काम समेत भएको थियो ।

अहमदले केही दिन अगाडी मात्रै सत्ता बाहिर रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) त्यागेर अशोक राई नेतृत्वको जसपामा प्रवेश गरेका थिए ।

जसपा नेपालमा रहँदा जिल्ला अध्यक्षको हैसियतमा रहेका अहमद विभिन्न सामाजिक क्रियाकलापमा पनि सक्रिय छन् । जसपामा भने उनलाई कुनै पद दिइएको छैन । स्रोतका अनुसार खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवले अहमदलाई जिल्ला अध्यक्ष बनाउने आश्वासन दिएपछि उनले जसपा नेपाल त्यागेका थिए ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलान्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालिकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउन मात्र बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *