
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं, ३० माघ । अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यात परिमाण बढाएने सहमती भएको छ । हाल ८ सय मेगावाट सञ्चालनमा रहेको प्रसारण लाइनबाट अब २ सय मेगावाट थप गरी १ हजार मेगावाट पुर्याइने भएको हाे ।
मंगलबार नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समिति बैठकमा दुई देशबीच यस्तो सहमति गरेकाे छ । ।
समितिको १२औं बैठकमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले नेतृत्व गरेका थिए ।
उक्त बैठकले ९ माघमा सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलको बैठकले सिफारिस गरेका विषयमा छलफल गरेको हो ।
बैठकमा नेपाल–भारत बीच विद्यमान विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अन्तरदेशीय विद्युत् आयात–निर्यात लगायत विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकमा चमेलिया–जौलिजिबीबीचको २२० किलोभोल्ट डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन सन् २०२५ सम्म तयार पार्ने सहमति समेत भएको छ ।
नेपाल खण्डको प्रसारणलाइन नेपाल विद्युत् प्रािधकरण र भारततर्फको लाइन पावर ग्रिडले २०२५ सम्म बनाइ सक्ने सहमति समेत भएको छ ।
नेपाल–भारतबीच इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेलीबीच ४ सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य २०३० सम्म सम्पन्न गर्ने समेत सहमतिमा उल्लेख छ ।
यसका लागि नेपालतर्फको प्रसारण लाइनको ५१ प्रतिशत र भारतको पावर ग्रिडको ४९ प्रतिशत एवं भारततर्फको प्रसारण लाइनका लागि पावर ग्रिडको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत स्वपूँजी रहने गरी मोडालिटी तय गर्ने सहमति समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
यस्तो कम्पनी एक महिनाभित्र स्थापना हुने भएको छ । सन् २०३४/३५ सम्मका लागि नेपालबाट थप विद्युत् भारत निर्यात गर्न अन्तरदेशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण र विस्तार गर्ने सहमति समेत भएको छ ।
जसमा निजगढ/हरनैया–मोतिहारीबीच ४ सय केभी प्रसारणलाइन २०३४/३५ सम्म निर्माण गर्ने, कोहलपुर–लखनउबीच ४ सय केभी, ढल्केबर–मुजफ्फरपुरबीच ४ सय केभी प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टरले प्रतिस्थापन गर्ने सहमति समेत भएको छ ।

प्रतिक्रिया