
श्रेणी : मधेस
रौतहट,३१ असार । रौतहटमा वन क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि आधुनिक ड्रोन प्रविधिको प्रयोगले सकारात्मक नतिजा दिन थालेको छ। डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिजन वन कार्यालयले तीन महिनादेखि ड्रोनमार्फत निगरानी थालेपछि काठ, दाउरा र नदीजन्य पदार्थको अवैध तस्करीमा कमी आएको छ।
वन अधिकृत विनोद जेठराका अनुसार ड्रोनबाट निगरानी गर्न थालेपछि तस्करहरूको गतिविधि नियन्त्रणमा आएको छ भने सुरक्षाकर्मीलाई निगरानी र कारवाहीमा पनि सजिलो भएको छ। ड्रोनको माध्यमबाट एकै पटकमा झण्डै १० किलोमिटरसम्मको क्षेत्र कभर गर्न सकिने भएकाले मानव स्रोतको खपत घटेको र निगरानीको दायरा बढेको वन कार्यालयले जनाएको छ।
विशेषगरी धन्सारखोलाबाट हुने ढुङ्गा–गिट्टी तस्करी, सालको काठको अवैध कटानी र साइकलमार्फत इँटा भट्टामा हुने दाउरा ढुवानी नियन्त्रणमा उल्लेखनीय सफलता भेटिएको छ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार अहिले एउटा ड्रोन प्रयोग भइरहेको छ भने आगामी आर्थिक वर्षमा थप ड्रोन खरिदको प्रक्रिया अघि बढाइएको छ। “ड्रोन प्रविधिले काठदेखि नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा ठूलो सहयोग पुगेको छ,” उनले भने।
मधेस प्रदेशमा पर्ने कुल वन क्षेत्रको २५ प्रतिशत हिस्सा रौतहटमा छ भने राष्ट्रिय रूपमा यो ३.९६ प्रतिशत हो। जिल्लामा जम्मा ३०,१७० हेक्टर वन क्षेत्र छ, जसमा सरकारद्वारा व्यवस्थापित ८,२३१ हेक्टर, साझेदारी वन ११,९२७ हेक्टर, ब्लक फरेष्ट १,०५२ हेक्टर, सामुदायिक वन ८,२५७ हेक्टर, धार्मिक वन ५१ हेक्टर र निजी वन ६५६ हेक्टरमा फैलिएको छ।
अतिक्रमण हटाउँदै वृक्षारोपणको काम पनि अघि बढाइएको छ। चालु आर्थिक वर्षमा १२ हेक्टरभन्दा बढी क्षेत्रमा अतिक्रमण हटाएर बिरुवा लगाइएको छ भने कार्यालयले आठ लाखभन्दा बढी बिरुवा उत्पादन गरेको छ।
डिभिजन प्रमुख साहका अनुसार प्रविधिको प्रयोगले वन क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। “रौतहटको यो अभ्यास अरू जिल्लाका लागि पनि नमुना बन्न सक्छ,” उनले बताए।


प्रतिक्रिया