
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौँ, २९ माघ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निम्न र मध्यम आय भएका देशहरूमा क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउन निःशुल्क औषधि वितरण गर्ने नयाँ प्लेटफर्म सुरू गरेको छ। मंगलबार सार्वजनिक यो पहल अन्तर्गत पहिलो चरणमा मङ्गोलिया र उज्बेकिस्तानमा औषधि पुर्याइनेछ। नेपाल, इक्वेडर, जोर्डन, र जाम्बियामा पनि आगामी महिनाहरूमा औषधि ढुवानीको योजना छ ।
डब्ल्यूएचओका अनुसार यो परियोजनाले यस वर्ष करिब पाँच हजार बालबालिकासम्म उपचार सेवा पुर्याउने लक्ष्य राखेको छ। पाइलट चरणका देशहरूमा ३० भन्दा बढी अस्पतालहरूमा यी औषधि वितरण गरिनेछ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले यस पहललाई बाल क्यान्सरको उपचारमा महत्वपूर्ण कदम भएको बताउँदै भने, “धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूलाई जीवन बचाउने औषधिको पहुँच थिएन। यो प्लेटफर्मले उनीहरूको जीवनमा नयाँ आशा थप्नेछ ।”
डब्ल्यूएचओले जानकारी दिएको छ कि निम्न तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सरबाट बच्ने दर ३० प्रतिशतभन्दा कम छ, जबकि उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत रहेको छ ।
यो अभियान संयुक्त राज्य अमेरिकाको टेनेसीस्थित सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्ल्यूएचओबीचको सहकार्यमा सुरु गरिएको हो। सेन्ट जुडले यो परियोजनाका लागि २० करोड अमेरिकी डलरको प्रतिबद्धता जनाएको छ ।
डब्ल्यूएचओले आगामी पाँचदेखि सात वर्षमा यो कार्यक्रमलाई विस्तार गर्दै ५० देशसम्म पुर्याउने लक्ष्य राखेको छ, जसबाट करिब १ लाख २० हजार बालबालिकाले औषधि पाउने अपेक्षा गरिएको छ ।
यो पहलले क्यान्सर उपचारमा असमानता घटाउँदै बालबालिकाको जीवन बचाउने दिशामा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया