
श्रेणी : मधेस
जनकपुर,२२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तराई मधेशको उपेक्षा गरेर देशको समृद्धि असम्भव रहेको बताएका छन्। धनुषाको जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूला भनिने दलहरूले तराई मधेशलाई केवल भोट बटुल्ने माध्यमका रूपमा प्रयोग गरेको तर विकास र महत्त्वपूर्ण आयोजनामा प्राथमिकता नदिएको आरोप लगाए।
अध्यक्ष लिङ्देनले तराई मधेश देशको ठूलो जनसंख्या ओगट्ने क्षेत्र भएको र यसको विकासबिना समृद्ध नेपालको परिकल्पना अपूरो रहने बताए। ठूला दलहरूले क्षेत्रलाई मतपेटिकासम्म सीमित राखेको आरोप लगाउँदै उनले राप्रपाले तराई मधेश केन्द्रित कार्यक्रम अघि सार्ने प्रतिबद्धता व्यक्त गरे।
पार्टी प्रवेश वर्षको रूपमा २०८१ लाई लिएकाे राप्रपाले धनुषामा युवाहरूको आकर्षण बढाउन सफल भएको छ। कार्यक्रममा सक्रिय युवा नेता रीतेश सिंहसहित थुप्रै नेता–कार्यकर्ताहरू राप्रपामा प्रवेश गरे। सिंहको आगमनले मधेशमा राप्रपाको संगठनलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपाले हिन्दुत्व र सनातन धर्मको प्रवर्धनलाई प्राथमिकतामा राख्दै देशव्यापी अभियान चलाइरहेको छ। सिंहले हिन्दू धर्ममाथि भइरहेका आक्रमणको प्रतिवाद गर्दै धार्मिक सहिष्णुता र सनातन परम्पराको रक्षा गर्न प्रतिबद्धता व्यक्त गरे।
नयाँ सदस्यहरूसँगको सहकार्यमा मधेशमा व्यापक संगठन विस्तार र हिन्दू धर्म संरक्षणका अभियानलाई तीव्रता दिने अध्यक्ष लिङ्देनले बताए। मधेशमा पार्टीको जनमतलाई भोटमा रूपान्तरण गर्न र जनताको चाहनालाई सम्बोधन गर्न राप्रपाले विशेष कार्यक्रम ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया