वीरगन्ज :

ठा.रा.ब क्याम्पसकाे स्ववियु निर्वाचनमा ८ दलीय महागठबन्धन निर्णायक बन्ने संकेत

श्रेणी : BANNER

10 months
Pradeep Sah
1.8kViews
1303 Shares

वीरगंज, ४ चैत – वीरगंजको ऐतिहासिक ठाकुर राम बहुमुखी क्याम्पसमा भोलि (५ फागुन) हुने स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न वैचारिक संगठनका विद्यार्थी नेताहरूले आ-आफ्नो प्यानलको जित पक्का रहेको दाबी गरेका छन्।

तर, ८ दलीय महागठबन्धन प्यानल सबै संगठनका लागि चुनौती बनेको छ। ठाकुर राम क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय साना दलका विद्यार्थी नेताहरू मिलेर चुनावी प्रतिस्पर्धामा उत्रिएपछि ठूला दलका विद्यार्थी नेताहरूसमेत तनावमा परेको बुझिएको छ।

८ दलीय महागठबन्धनबाट श्याम प्रसाद गुप्ताको नेतृत्वमा सचिवमा राज साह कानु, कोषाध्यक्षमा सलमान देवान तथा सदस्यहरूमा रामकृष्ण यादव, मयंक कुमार श्रीवास्तव, अजय कुमार पटेल, सुवान्शी कुमारी, मुस्कान समानी, रामाशंकर पण्डित, पृथ्वी नारायण सिंह, अर्जुन कुमार सर्राफ, सन्दीप प्रसाद चौहान र गौतम यादव लगायतका विद्यार्थी नेताहरू एउटै व्यानरमा एकजुट भएका छन्।

उनीहरूको मोर्चाबन्दीपछि ठाकुर राम क्याम्पसमा आन्तरिक गुटबन्दी चलिरहेको ठूला संगठनहरूलाई नोक्सान पुग्ने र महागठबन्धनलाई प्रत्यक्ष फाइदा हुने अनुमान गरिएको छ।

महागठबन्धनमा विद्यार्थी जनमत संघ, अनेरास्ववियु (समाजवादी), नयाँ शक्ति, राष्ट्रिय बजरंग दल, उन्मुक्ति, सद्भावना, स्वतन्त्र युवा समूह र मुस्कान महिला समूह जस्ता विद्यार्थी संगठनका नेताहरू एकजुट भएका छन्।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार, ८ दलको प्रत्यक्ष गठबन्धनमा विद्यार्थी नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएको र साना विद्यार्थी संगठनहरूको समेत समर्थन मिलेकाले श्याम गुप्ता नेतृत्वको प्यानलको जित निश्चित देखिएको छ।

गुप्ता नेतृत्वको प्यानलका विद्यार्थी नेताहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन्। स्ववियु निर्वाचनमा परम्परागत रूपमा बलियो रहँदै आएको नेपाल विद्यार्थी संघ भित्र बागी उम्मेदवारहरूको संख्या बढ्दै गएपछि यसको प्रत्यक्ष लाभ महागठबन्धनलाई हुने देखिएको छ।

८ दलीय महागठबन्धनले क्याम्पसको बेथिति अन्त्य, समग्र विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन, र विद्यार्थी स्वाभिमान रक्षा जस्ता मुद्दालाई मुख्य एजेण्डा बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *