
श्रेणी : BANNER
वीरगन्ज,०७ चैत । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ। मतपेटिकामा सिल नम्बर परिवर्तन भएको भेटिएपछि उम्मेदवार र विद्यार्थी सङ्गठनले क्याम्पस प्रशासनविरुद्ध विरोध जनाए।
बिहीबार क्याम्पसको मुख्य गेट अगाडि स्ववियु उम्मेदवार र विभिन्न विद्यार्थी सङ्गठनका समर्थकहरूले टायर बालेर प्रदर्शन सुरु गरेका छन्। क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा निर्वाचनको परिणाम प्रभावित पारिएको आरोप लगाउँदै उनीहरूले क्याम्पस प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका छन्।
मतपेटिकामा ७ नम्बर सिलको परिवर्तन पत्ता लागेपछि उम्मेदवार प्रतिनिधिहरूले आपत्ति जनाएका थिए। समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष हरेन्द्र साहका अनुसार, मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँगको मुचुल्कामा भएका सिल नम्बर मेल नखाएको थियो।
“प्रशासनले यसलाई सानो विषय भनेर बेवास्ता गर्न खोज्यो, तर यो ठूलो गडबडी हो,” हरेन्द्र साहले भने।
विद्यार्थी नेता मनोज साहले क्याम्पस प्रशासन र प्रहरीको मिलेमतोमा सत्ताधारी सङ्गठनलाई जिताउन मतपेटिका परिवर्तन गरिएको आरोप लगाए। उनले भने, “क्याम्पस प्रमुख र निर्वाचन अधिकृत सत्ताधारी दलको पक्षमा मत परिणाम ल्याउन लागेका छन्। यसैले हामीले मतगणना बहिष्कार गरेका छौं।”
दोषीलाई कारवाही गरिनुपर्ने भन्दै प्रदर्शनकारीहरूले क्याम्पस गेटमा टायर बालेर विरोध गरेका छन्।
त्यस्तै, मतदानको राति उम्मेदवार र प्रतिनिधिहरूलाई मतदान स्थलबाट बाहिर निकालेर मतपेटिका परिवर्तन गरिएको आरोप पनि उथालेका छन्। विद्यार्थी नेता सुधीर पटेलले यसलाई षडयन्त्रका रूपमा मूल्याङ्कन गर्दै भने, “यो निर्वाचन हामी स्वीकार्दैनौं।”
विवादको बीचमा प्रहरीको प्रयासले सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाएपछि रिपोर्टिङ गर्दै गरेका पत्रकारहरूले असन्तोष व्यक्त गरेका छन्। युथ्स अफ वीरगन्जका पत्रकार सौरभ साहले डिएसपी किशोर लम्सालको हस्तक्षेपको बारेमा जानकारी दिएका छन्, जसले उनलाई र अन्य सञ्चारकर्मीलाई जबरजस्ती बाहिर निकालेका थिए।
मतगणनाको स्थगित हुनुअघिको परिणामअनुसार नेपाल विद्यार्थी संघका उम्मेदवार राजकुमार यादव ४२० मतका साथ अग्रस्थानमा थिए।
सो विवादका कारण मतगणना प्रक्रियामा थप ढिलाइ भएको छ र अब यो विवाद समाधान गर्नका लागि छलफल र निष्कर्षसम्म पुग्न समय लाग्ने देखिन्छ।
ठाकुरराम क्याम्पसमा २०६५ पछि रिक्त विद्यार्थी नेतृत्वको पूर्ति गर्ने उद्देश्यले यस निर्वाचनको महत्व थियो, जसमा कुल २४७ उम्मेदवार २१ पदका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया