
श्रेणी : मधेस
बीरगन्ज,१३ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट पुनः सुरु हुने भएको छ। यसअघि, मङ्गलवार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको बैठकमा जिल्ला सुरक्षा समिति र विद्यार्थी संगठनहरूको सहमतिमा मतगणना प्रक्रिया पुनः सुचारु गर्न निर्णय गरिएको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको अध्यक्षतामा भएको बैठकमा स्ववियु निर्वाचनका उम्मेदवार र विद्यार्थी संगठनका प्रतिनिधिहरूले भाग लिएका थिए। बैठकमा क्याम्पसमा कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय पनि गरिएको छ। यो समितिको संयोजक सहायक सिडिओ सुमन कुमार कार्की हुनेछन्, जसमा प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र विद्यार्थी संगठनका तीन प्रतिनिधि सदस्यका रूपमा सहभागी हुनेछन्।
सिडिओ अर्यालले भने, “छानबिन समितिले फर्जी भर्नाको विस्तृत अनुसन्धान गरी दोषी पाइएको खण्डमा कारबाहीको सिफारिससमेत गर्नेछ।” उनले थपे, “सहमतिका आधारमा आज १ बजेबाट मतगणना सुरु हुनेछ।”
तर, केही विद्यार्थी संगठनहरूले भने मतगणना सुरु गर्नअघि अदालतको निर्णय आवश्यक भएको अडान राखेका छन्। जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले उच्च अदालत जनकपुरमा रिट निवेदन दायर गरेका छन्, जसले मतगणनालाई स्थगित गर्नुपर्ने दाबी गरेका छन्।
यसैबीच, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष रमेश यादवले भने, “मतगणना पुनः सुरु गर्ने सहमति भएको कुरा हामीले स्वीकार गरेका छौं, र १ बजेबाट प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरेका छन्।”
ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि भएको स्ववियु निर्वाचनको मतगणना गत मङ्गलवारबाट सुरु भएको थियो। तर, मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिहरूसँग भएको मुचुल्का नम्बर नमिलेपछि विवाद उठेका थिए। विद्यार्थीहरूले क्याम्पस प्रशासनमाथि आरोप लगाएका थिए कि विशेष समूहलाई जिताउन मतपेटिका साटिएको छ। यस विवादका कारण मतगणना रोकिएको थियो।
स्ववियु निर्वाचनमा २४७ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्, जसमा सभापति पदका लागि १४ उम्मेदवार छन्।

प्रतिक्रिया