
श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,०६ साउन । काठमाडौँको ठमेलबाट प्रहरीले २ केजी सुन र २४ लाख रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ठमेलस्थित एक होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, पक्राउ परेका दुवै जनाको साथबाट २ किलो सुन र २४ लाख नगद बरामद गरिएको छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, चुनलिन थान डेढ महिनाअघि काठमाडौँ आएर ठमेलको होटलमा बसिरहेका थिए भने सुमेई चोउ केही दिनअघि मात्रै काठमाडौँ आएकी थिइन्।
उनीहरू प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया