वीरगन्ज :

ठगी तथा नक्कली कागजपत्र बनाएर जग्गा हडप्ने : रौतहटमा पाँच जना पुर्पक्षका लागि कारागार चलान

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.8kViews
1519 Shares

रौतहट,१४ पुस । नक्कली कागजपत्र बनाएर जग्गा हडप्ने र खोटा मुद्रा सम्बन्धी कसुरमा संलग्न पाँच जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई अदालतको आइतबारको आदेशअनुसार कारागार चलान गरिएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार खोटा सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। जसमा भारतको बिहार, मोतिहारीका २३ वर्षीय जयप्रकाश कुमार, रौतहट बौधीमाई घर भई देवाही गोनाही बस्ने २९ वर्षीय गेनालाल राउत पटेल र २० वर्षीय अजय पटेल छन्। उनीहरूलाई गत मंसिर १६ गते ईशनाथ नगरपालिका-४ लतमरीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालत पेस गरिएका उनीहरूलाई थुनामा पठाउने आदेश भएको हो।

यसैगरी, अर्को एउटा संगठित किर्ते र ठगी प्रकरणमा कटहरिया नगरपालिका-१ का ४२ वर्षीय रामपुकार महतो कोइरी र मकवानपुर हेटौंडाका ५२ वर्षीय राधाकृष्ण उपाध्याय पनि कारागार चलान भएका छन्। केशव प्रसाद पौड्यालको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूले कटहरिया-१ स्थित करिब १० बिघा जग्गा हत्याउन अदालतको फैसला र पत्र नै किर्ते गरेको पाइएको छ।

उनीहरूले २४ कित्तामा फैलिएको ९ बिघा १८ कठ्ठा १५ धुर जग्गा गैरकानुनी ढंगले आफ्नो नाममा दर्ता गराएका थिए। लामो समय लुकिछिपी बसेका उनीहरूलाई गत कार्तिक ११ गते प्रहरीले फेला पारेको थियो। लिखत किर्ते, ठगी, आपराधिक लाभ र विश्वासघातको मुद्दामा अनुसन्धान सकेर अदालत पुर्‍याइएका उनीहरूलाई पनि आइतबारकै इजलासले पुर्पक्षका लागि जेल पठाएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *