वीरगन्ज :

ट्राफिक सप्ताहको पाँचौं दिन वृक्षारोपण र ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.3kViews
1707 Shares

बीरगन्ज,२६ जेठ । ट्राफिक नियमप्रतिको जनचेतना मात्र होइन, वातावरणीय सन्देशसमेत प्रवाह गर्ने उद्देश्यले पर्सामा ट्राफिक सप्ताह २०८२ को पाँचौं दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ। पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका–२४, परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरेका थिए। उनले ट्राफिक सप्ताहलाई सडक सुरक्षासँगै वातावरणीय सन्तुलन कायम गर्ने अवसरको रूपमा लिइएको बताए। “ट्राफिक नियमको जानकारी मात्र होइन, हामी वातावरणप्रति पनि संवेदनशील हुनुपर्छ,” भट्टले भने, “यसरी जनसहभागितामार्फत हरियाली प्रवर्द्धनमा सन्देश दिन सकिन्छ।”

कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो भने १५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका थिए। सहभागीहरूमा ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, समाजसेवी विजय गुप्ता, नेपाली कांग्रेसका नेता हबिब मिया, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डल, ट्राफिक बिट इन्चार्ज इन्द्र मगर, पत्रकार अभिलाष गुप्ता र तिवारी यादवसहित अन्य विशिष्ट व्यक्तिहरू थिए।

यसै क्रममा, ब्राइट पब्लिक स्कूल र मुनलाईट स्कूलका विद्यार्थीहरूले पनि सडकमा सक्रिय भई ट्राफिक सचेतना फैलाउने काम गरे। उनीहरूलाई व्यस्त चोकहरूमा खटाई पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिएको थियो। साथै, ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा र पम्पलेट वितरण गरेर सर्वसाधारणलाई जानकारी प्रदान गरिएको थियो।

आयोजकहरूका अनुसार यस्ता कार्यक्रमहरूले नागरिकमा ट्राफिक नियमप्रति सचेतना जगाउने र दीर्घकालीन रूपमा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। ट्राफिक सप्ताहका बाँकी दिनहरूमा पनि यस्तै जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *