
श्रेणी : प्रदेश
काठमाडौ,२३ असार । नेपालमा सवारी दुर्घटनाको दर दिनप्रतिदिन बढ्दो छ। नेपाल प्रहरीका अनुसार गत जेठ महिनामा मात्रै देशभर २ हजार ९ सय ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनाहरूमा २१५ जनाको ज्यान गएको छ भने हजारौं घाइते भएका छन्।
प्रहरीको तथ्यांक अनुसार, जेठ महिनामा कूल ४ हजार ४ सय १६ वटा सवारी साधन जाँच गरिए पनि तिनीहरूमध्ये ६६ प्रतिशतभन्दा बढी दुर्घटनामा परेका छन्।
दुर्घटनाको समयगत विश्लेषण गर्दा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको अवधिमा सबैभन्दा बढी — १ हजार ७३ वटा सवारी दुर्घटनामा परेका छन्।त्यसपछि साँझ ६ बजेदेखि राति १२ बजेसम्म १ हजार १६ वटा दुर्घटना भएका छन्।
राति १२ बजेदेखि बिहान ६ बजेसम्म १५८ वटा र बिहान ६ बजेदेखि १२ बजेसम्म ३३ वटा सवारी दुर्घटनाको रेकर्ड गरिएको छ।
यो अवधिमा भएका दुर्घटनाबाट २१५ जनाले ज्यान गुमाएका छन्। यस्तै, ५८० जना गम्भीर घाइते भएका छन् भने ३ हजार ६६० जना सामान्य घाइते भएका छन्।प्रहरीका अनुसार तीव्र गति, मापसे, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नहुनु, ओभरटेक जस्ता कारणले दुर्घटना बढेका हुन्।
ट्राफिक नियम उल्लंघन गर्नेविरुद्ध जेठ महिनामा मात्र १ लाख ११ हजार १ सय ९२ सवारी साधनमाथि कारबाही गरिएको छ। यसबाट ९ करोड ४१ लाख ३० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको प्रहरीको भनाइ छ।
सन्देश : नियम पालना नै सुरक्षा
प्रहरीले आम नागरिकलाई सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्न, मापसे नगर्न र अत्यधिक गति नतल्काउन आग्रह गरेको छ। प्रहरीका अनुसार नियम पालना गरिए मात्र सडक दुर्घटनाबाट हुने जनधनको क्षति घटाउन सकिन्छ।


प्रतिक्रिया