श्रेणी : प्रदेश
काठमाडौं, ०२ पुस । सामाजिक सञ्जाल टेलिग्राम सक्रिय स्क्यामर गिरोहले नेपाली प्रयोगकर्ताबाट कम्तिमा ४५ करोड रुपैयाँ ठगी गरेको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमै हालसम्म ४५ करोड रुपैयाँभन्दा बढी ठगी भएको भन्दै उजुरी परेको हो ।
आर्थिक ठगी गर्ने उद्देश्यले टेलिग्राम च्यानलमा यतिखेर ठूलो संख्यामा स्क्यामर समूह सक्रिय छन् । ती ठगहरूको तारोमा पछिल्लो समय नेपाली प्रयोगकर्ता छन् । टेलिग्राममा खोलिएका विभिन्न मेसेन्जर ग्रुपबाट स्क्यामर समूहले नेपालीलाई प्रलोभनको जालोमा फसाउँदै लुटिरहेका हुन् ।
सहज आम्दानीको लोभ देखाएर स्क्यामरहरूले आम मानिसलाई टेलिग्रामसम्म प्रवेश गराइरहेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार अहिलेसम्म टेलिग्राममा मात्रै ४५ करोड रुपैयाँभन्दा बढी रकम ठगीएको उजुरी परेको छ ।
अन्य माध्यमको तुलनामा टेलिग्रामबाट हुने ठगीबारे अनुसन्धान गर्न कठिन हुने गरेको अवस्थी बताउँछन् ।
सामान्यतयाः टेलिग्राममा सक्रिय स्क्यामरले आम मानिसलाई अति सजिलो काम गरेर आम्दानी गर्न सकिने लोभ देखाउँछन् । यस्तो लोभ देखाउन उनीहरूले नियमित रूपमा प्रयोग गर्ने अन्य मेसेन्जर ग्रुपबाट सन्देश पठाउँछन् ।
त्यस्तो म्यासेज प्रायः ह्वाट्सएप ग्रुपबाट आउने गर्छ, जहाँ प्रयोग गरिएको नम्बर भने विदेशी हुने गर्छ ।
तल तस्बिरमा देखाएझैँ स्क्यामर ग्रुपले इन्टाग्राम वा फेसबुक पेजका विभिन्न लिङ्क पठाउँछन् । लाइक, कमेन्ट वा शेयर गरेर स्क्रिनसट पठाएपछि निश्चित रकम प्राप्त गर्न सकिने मेसेज गर्छन् ।
प्रतिक्रिया