वीरगन्ज :

टायर पड्किएको बहानामा अध्यक्ष यादवद्वारा युवामाथि दुर्व्यवहार

श्रेणी : मधेस

15 hours
Pradeep Sah
2.9kViews
1813 Shares

बारा,०६ साउन । लोकतन्त्रमा जनताको सेवा गर्न पठाइएका जनप्रतिनिधिबाटै जनतामाथि अपमानजनक व्यवहार हुनु दुःखद बन्दै गएको छ। सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवमाथि सार्वजनिक ठाउँमै मदिरा सेवन गरेर युवामाथि दुर्व्यवहार र हातपातको प्रयास गरेको आरोप लागेको छ।

कलैया उपमहानगरपालिका–३ गङ्गापुरका विकास साहका अनुसार उनी बाटो काट्दै गर्दा अध्यक्ष यादव चढेको स्कार्पियो गाडीको पछाडिको टायर पड्कियो। तर, अध्यक्ष यादवले त्यसको दोष आफ्नो बाइकलाई देखाउँदै गालीगलौज र हातपात गर्न खोजेको साहले बताए।

“दिउँसै रक्सी खाएर अध्यक्षजस्तो व्यक्तिले सार्वजनिक ठाउँमा धम्क्याएर हात हाल्ने प्रयास गर्नु लज्जास्पद कुरा हो। म मानसिक रुपमा निकै पीडित भएको छु,” साहले भने।

उनका अनुसार अध्यक्ष यादवले आफूलाई ‘पावर’ देखाएर थुनाउने धम्कीसमेत दिएका छन्। घटनापछि स्थानीयबासीहरूमा तीव्र असन्तुष्टि देखिएको छ। एक स्थानीय बासिन्दाले भने, “हामीले भोट दिएर पठाएका जनप्रतिनिधिहरू आफैं रक्सी खाएर जनतालाई धम्क्याउँछन् भने कसरी जनताको सेवा हुन्छ?”

साहले घटनाका प्रत्यक्षदर्शी ट्राफिक प्रहरीले समेत अध्यक्षको प्रभावमा परेर आफ्ना कुरा नसुनेको गुनासो गरेका छन्।

जनताको सेवामा खटिनुपर्ने जनप्रतिनिधिहरूबाटै शक्तिको दुरुपयोग र अपमानजनक व्यवहार हुँदा लोकतान्त्रिक आचारसंहितामाथि प्रश्न उठेको स्थानीयहरू बताउँछन्।

यस विषयमा अध्यक्ष यादवको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *