
श्रेणी : अन्तर्राष्ट्रिय
अमेरिकी तटरक्षकहरूले टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाँदै गर्दा बेपत्ता भएका सबै पाँच जनाको मृत्यु भएको बताएका छन् । उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ ।
एकजना अमेरिकी नौसेना अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई आइतवार जहाज सम्पर्कविहीन भएको केही समयपछि विस्फोटसँग मिल्दोजुल्दो आवाज सुनिएको बताएका थिए ।
यो साताको सुरुमा पानीमुनि आवाज सुनिएको खबर आएपछि उक्त जहाजमा रहेकाहरू अझै जीवित छन् कि भन्ने आशा जागेको थियो । उक्त जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुईजना ब्रिटिश–पाकिस्तानी, एक जना ब्रिटिश व्यापारी र एक जना फ्रान्सेली अन्वेषक यात्रारत थिए । उक्त पनडुब्बी आइतबारदेखि सम्पर्कविहीन भएको थियो ।
उत्तरी आन्ध्र महासागरमा डेबको टाइटन पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेटका एक कर्मचारीले सन् २०१८ मै उक्त ’सबमर्सबल’मा उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा खतराबारे चेतावनी दिएको पाइएको छ ।
संयुक्त राज्य अमेरिकाको अदालतमा पेस भएका कागजपत्रमा कम्पनीका मरीन अपरेशन निर्देशक डेभिड लाक्रिजले उक्त पनडुब्बीको परीक्षणपछि तयार पारेको प्रतिवेदनमा चिन्ता व्यक्त गरेका थिए भन्ने देखिन्छ ।
त्यसमा टाइटन पनडुब्बीको ’हल’ अर्थात् मुख्यभागको परीक्षण गरिएको तरिकामाथि प्रश्न उठाइएको थियो । उक्त पनडुब्बी समुद्रमा निकै तल पुग्ने भएकाले लाक्रिजले टाइटनका यात्रुलाई हुनसक्ने खतराहरू औँल्याएका थिए ।
एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित त्यो पनडुब्बी पानीमुनि गएको थियो । पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए । पहिला फ्रान्सको जनसेनामा काम गरेका पल–अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए ।
उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए । टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए् । त्यो माथि सतहमा उत्रिएमा त्यसलाई बाहिरबाट मात्र खोल्न मिल्ने विज्ञहरूले बताएका छन् ।
सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ । अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया