
श्रेणी : BANNER
काठमाडौं,२६ भदौ । देशभर जारी जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा परी अहिलेसम्म ३० जनाले ज्यान गुमाएका छन् भने एक हजार ६१ जना घाइते भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृतकमध्ये ८ जना राष्ट्रिय ट्रमा सेन्टरमा, ६ जना निजामती कर्मचारी अस्पतालमा, ५ जना भेरी अस्पतालमा, ३–३ जना फ्रन्टलाइन र एभरेष्ट अस्पतालमा, २ जना काठमाडौँ मेडिकल कलेजमा, २ जना बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र १ जना त्रिवि शिक्षण अस्पतालमा रहेका छन्।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार, अहिलेसम्म ७१९ जना घाइते उपचारपछि घर फर्किएका छन् भने २७४ जना विभिन्न अस्पतालमा अझै उपचाररत छन्।
हाल मात्र निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, वीर अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा २४ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जना उपचार भइरहेका छन्।
सबैभन्दा बढी दबाब निजामती कर्मचारी अस्पतालमा परेको मन्त्रालयले जनाएको छ। त्यहाँ मात्रै ४३६ जना घाइते भर्ना भएर उपचार गराइएको छ। ट्रमा सेन्टरमा १६१ र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार गरिएको छ।
मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिएको छ।


प्रतिक्रिया