वीरगंज (पर्सा), ३ पुस । गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको आरोप लागि बिहीबार पक्राउ परेका हिन्दुवादी नेता रन्जन सिंह राजपुत छोटो समयको प्रहरी नियन्त्रणपछि रिहा भएका छन् ।
नेपाल सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच मंसिर २४ गते भएको १० बुँदे सम्झौताका आधारमा उनलाई जिम्मेवारी जमानीमा रिहा गरिएको हो । प्रहरीका अनुसार, सम्झौतामा आन्दोलनमा सहभागी भएकै आधारमा व्यक्तिलाई थुनामा नराख्ने प्रावधान उल्लेख छ, त्यही प्रावधानका अनुसार छाडिएको हो ।
वीरगंज महानगरपालिका वडा नम्बर १० रानीघाट निवासी ४१ वर्षीय राजपुतलाई बिहीबार बिहान अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएको थियो । सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । मेयर राजेशमान सिंहले राजपुतसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
तर साँझ करिब ७ बजेर २० मिनेटतिर राजपुतलाई रिहा गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । रिहाइपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रहरी उपरीक्षक पाठकले भने, ‘सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै आधारमा थुनामा राख्न नमिल्ने प्रावधान छ । आवश्यक परे बयानका लागि फेरि बोलाउन सकिन्छ ।’
रिहाइको माग गर्दै प्रदर्शन
राजपुतको रिहाइको माग गर्दै बिहीबार दिउँसो जेनजी समर्थक तथा हिन्दुवादी युवाहरूले जिल्ला प्रहरी कार्यालय पर्साअगाडि टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले राजपुत निर्दोष रहेको दाबी गर्दै बिना शर्त रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
बिहीबार वीरगंजको लाल बङ्गला स्थित जिल्ला प्रहरी कार्यालय पर्साको गेट अगाडि मुख्य सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै हिन्दुवादी संघसंगठनहरूले प्रहरीको कदमप्रति आपत्ति जनाएका थिए । उनीहरूले राजपूत हिन्दुहरूको पक्षमा सक्रिय रहँदै आएका कारण राजनीतिक प्रतिशोधका आधारमा उनलाई जबरजस्ती हिरासतमा राखेर झुटा आरोप लगाइएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
मुद्दा कायमै, अनुसन्धान जारी
प्रहरी उपरीक्षक पाठकका अनुसार राजपुतलाई रिहा गरिएपनि मुद्दा भने कायमै रहेको छ । ‘कानुनको पालना गर्दै रिहा गरिएको हो, तर घटना सम्बन्धी अनुसन्धान जारी नै रहनेछ,’ उनले स्पष्ट पारे । जेनजी आन्दोलनका क्रममा देशभर सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति र हिंसाका घटनाको छानबिन अझै जारी रहेको सन्दर्भमा रन्जन सिंह राजपुतको रिहाइले कानुनी र राजनीतिक वृत्तमा नयाँ बहसलाई जन्म दिएको छ ।




प्रतिक्रिया