वीरगन्ज :

जेनजी आन्दोलनपछि रौतहट प्रशासनद्धारा १० बुँदे निर्देशन जारी

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1559 Shares

रौतहट,३० भदौ । जेनजी आन्दोलनपछि नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले १० बुँदे निर्देशन जारी गरेको छ।

आइतबार कार्यालय प्रमुखहरूको बैठकपछि सार्वजनिक गरिएको निर्देशनमा आन्दोलनका क्रममा भएको क्षतिको व्यवस्थापन र कार्यालयीय कार्यलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्न भनिएको छ।

निर्देशनअनुसार, सम्बन्धित कार्यालयहरूले तोडफोड र आगजनीबाट भएको अनुमानित क्षतिको विवरण प्रमाणसहित प्रशासनमा बुझाउनुपर्नेछ। साथै, कार्यालय भवन, कर्मचारी र सेवाग्राहीको सुरक्षामा विशेष ध्यान दिनुका साथै स्थानीय समुदायसँग सहकार्य गर्न आग्रह गरिएको छ।

सार्वजनिक सेवा प्रदायक निकायहरूलाई इन्टरनेट, विद्युत् जस्ता सेवामा सहज पहुँच सुनिश्चित गर्न तत्काल पहल गर्न भनिएको छ। कार्यालय र कर्मचारीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने र आकस्मिक अवस्थाबाहेक अन्य कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ।

भदौ २९ गतेदेखि सबै कार्यालयहरूले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने, राष्ट्रिय गोपनीयता कानुनको कडाइका साथ पालना गर्नुपर्ने र सुरक्षासम्बन्धी संवेदनशीलतामा सतर्क रहनुपर्ने उल्लेख छ।

त्यस्तै, सम्भावित चोरी, डकैती वा अन्य अवाञ्छित गतिविधि रोक्न सावधानी अपनाउन र समस्या भए तत्काल प्रहरीलाई जानकारी दिन भनिएको छ। सो मितिदेखि जिल्लाभरका विद्यालय सञ्चालनमा ल्याउनुपर्ने र स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण सुनिश्चित गर्नुपर्ने पनि निर्देशनमा उल्लेख छ।

प्रशासनले सबै कार्यालयहरूलाई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन र सुशासन कायम गर्दै सार्वजनिक सेवामा प्रभावकारिता बढाउन जोड दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *