वीरगन्ज :

“जेनजीको जायज माग सम्बोधन गर्दै संविधान र लोकतन्त्र जोगाउनुपर्नेमा पर्साका नेताहरू एकमत

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.3kViews
1114 Shares

वीरगन्ज, २६ भदौ – पर्साका जिल्लाका राजनीतिककर्मीहरू संविधान रक्षाको पक्षमा उभिएका छन्। जेनजीको आन्दोलन जायज भए पनि व्यवस्था जोगाउनैपर्नेमा पर्साका नेताहरूको जोड छ। उनीहरूले जेनजीलाई अगाडि सारेर देशको लोकतन्त्र मास्ने प्रयास आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

नेपाली कांग्रेस पर्साका सभापति एवं मधेश प्रदेश सभा सदस्य जनार्धन सिंह क्षेत्रीले जेनजीले गरेको प्रदर्शन हिंसात्मक बनेको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरे। उनले अहिलेको व्यवस्थामा रहेका कमी–कमजोरी सच्याउनुपर्ने भए पनि संसद् विघटन, संघीयता खारेजी तथा लोकतन्त्र मास्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए।

नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता मनोज चौधरीले आन्दोलनको क्रममा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति संवेदना प्रकट गरे। उनले युवाहरूले उठाएका माग सम्बोधनयोग्य भए पनि लोकतन्त्रलाई धरापमा पार्ने खेलमा प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएकाले लोकतन्त्रवादी सबै शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे। चौधरीले पार्टीको ऐजेन्डा जेनजी आन्दोलनसँग मिल्दोजुल्दो भएकाले सुरुदेखि नै समर्थन रहेको बताए। तर, सबै संवैधानिक बाटो अपनाउनुपर्ने र संवाद प्रक्रियामा राष्ट्रपतिसमेतलाई सहभागी गराउनुपर्नेमा जोड दिए।

त्यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले जेनजी आन्दोलनले उठाएका माग राजनीतिक दलहरूले मात्र पूरा गर्नसक्ने भन्दै त्यसका लागि संवैधानिक बाटो अपनाउनुपर्ने बताए। उनले लोकतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक निर्वाचन प्रणाली, मौलिक हकजस्ता उपलब्धि कुनै हालतमा खोसिन नसक्ने स्पष्ट पारे। लोकतन्त्र राजनीतिक शक्तिविना बलियो नहुने भएकाले जेनजीका साथीहरू सचेत रहनुपर्नेमा उनले जोड दिए।

नेकपा माओवादी केन्द्रका नेता एवं मधेश प्रदेश सभा सदस्य रहबर अंसारीले जनताको जायज माग सम्बोधन हुनुपर्ने भए पनि लोकतन्त्रको पक्षमा उभिनुपर्ने बताए। उनका अनुसार अहिले आवाज नउठाए लोकतन्त्र नै संकटमा पर्ने र भविष्यको पुस्ताले लोकतन्त्र किताबमै मात्र पढ्नुपर्ने अवस्था आउने बताए ।

जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले नेपाली जनताले ठूलो संघर्ष र बलिदानीका माध्यमबाट हालको उपलब्धि प्राप्त गरेको उल्लेख गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामाथि कुनै किसिमको हानि–नोक्सानी हुने गरी समाधान खोज्न नहुने बताए। उनले भ्रष्टाचारविरुद्ध आफूहरू पनि उभिएको र ती तत्त्वहरू पहिचान भइसकेकाले तिनलाई अलग राखेर अघि बढ्नुपर्नेमा जोड दिए।

त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य युवा मुकेश द्विवेदीले हालको समस्याको समाधानका लागि संवैधानिक र लोकतान्त्रिक बाटो अवलम्बन गर्नुपर्ने धारणा राखे। उनले जेनजी युवाहरूको जायज माग सम्बोधन गर्दै लोकतन्त्र र व्यवस्थालाई जोगाउँदै अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *