श्रेणी : BANNER
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला भ्रष्टाचारका काण्डलाई सामसुम पार्न ठूला नेताहरू चर्को बोल्ने तर आफ्नो अनुकुलतामा बार्गेनिङमा लागेको भन्दै पार्टीभित्र र बाहिरकासँग मिलेर आन्दोलन गर्न प्रस्ताव गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत महामन्त्री थापाले ललितानिवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्डपछि टीकापुर जग्गा घोटाला लगायत एकपछि अर्का ठूला भ्रष्टाचारका काण्डहरू बाहिर आएको सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बढेको आरोप लगाएका हुन् ।
उनले भनेका छन्, ‘पुराना घटनाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन, भ्रष्टाचार नियन्त्रणका लागि बनेका हाम्रा कानूनी र संरचनागत संयन्त्रहरूलाई बलियो बनाउँदै यसमा देखिएका लुपहोलहरूमा काम गर्न यी घटनाहरूले हामीलाई झकझकाइरहेका छन् । तर, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर विस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा सत्ता बार्गेनिङको टुल,’ बनाउने सम्भावना एकदमै देखिन्छ ।’
महामन्त्री थापाले यसैले उनीहरू मिल्दै गर्दा समान धाराणा राख्ने सबै दलका नेताहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । उनले भनेका छन्,‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔं । हामीले प्रयास गर्यौं भने यी विषयलगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दै छ । यसका निम्ति संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुईवटा ऐन संशोधन विधेयक विचाराधीन छन् । हामीले छुट्टाछुट्टै दर्जनौँ संशोधन हालेका छौं । यसमा राम्रोसँग काम गरौं ।’
महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउन तथा नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानून नै बनाउन प्रस्ताव गरेका छन् ।
उनले भनेका छन्, ‘अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि के–के कानूनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौं । योसँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष र क्षमतावान् बनाउन अहिले भएको व्यवस्थामा के–के बदल्नैपर्छ यसमा पनि काम थालौं । यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ– निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् । भ्रष्टाचारीको सन्दर्भमा न नेता, न नाता केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौं ।’
    
    
    
									
									
									
        
        
प्रतिक्रिया