
श्रेणी : अन्तर्राष्ट्रिय
धनी देशहरूको समूह जी सेभेनका नेताहरूले आवश्यक पर्दासम्म युक्रेनलाई साथ दिने बताएका छन् । सोमबार युक्रेनी सहरहरूमा रुसले गरेका मुख्य हमलापछि उक्त समूहले एउटा आपतकालिन भर्चुअल बैठक गरेको थियो ।
क्यानडा, फ्रान्स, इटली, जर्मनी, जापान, बेलायत र अमेरिका सदस्य रहेको सो समूहले सैन्य र मानवीय सहायता गर्ने काम जारी राख्ने समेत जनाएको छ ।
रुससमेत उक्त समूहको सदस्य रहेकोमा सन् २०१४ क्राइमिया आफ्नोमा गाभेसँगै उसलाई समूहबाट हटाइएको थियो । पश्चिमा सैन्य गठबन्धन नेटोलेसमेत आवश्यक परेको समयसम्म युक्रेनको साथमा रहने जनाएको छ । राजधानी किएभको मध्यमागसहित युक्रेनका कैयौँ क्षेत्रमा रुसी क्षेप्यास्त्रहरू प्रहार हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै २० जनभन्दा धेरै घाइते भएका थिए ।
हमलाहरू मङ्गलबारसमेत जारी रहेका थिए र सर्वसाधारणहरूलाई हवाई प्रतिरक्षा हुने आश्रय स्थलहरूमा बस्न सुझाइएको छ । रुसी राष्ट्रपति पुटिनले ती हमलाहरू रुसलाई अधीनस्थ क्राइमियासँग जोड्ने एउटा मुख्य पुलमा भएको प्रहारको जबाफ बताएका छन् ।
उनले त्यहाँ भएका विस्फोटनका लागि युक्रेनमाथि आरोप लगाएका छन् । तनाव बढाउने ती रुसी कदमको पश्चिमा नेताहरू तत्काल निन्दा गरेका थिए ।
जी सेभेनको विज्ञप्तिमा भनिएको छ, ‘हामीले आर्थिक, मानवीय, सैन्य, कूटनीतिक र कानुनी सहायता दिने काम जारी राख्नेछौँ र आवश्यक पर्दाको समयसम्म दृढ रूपमा युक्रेनसँग रहनेछौँ।’
उक्त समूहले रुसले एकलौटी ढङ्गले गरेका जनमतसङ्ग्रहहरूमार्फत् युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्न गरेको प्रयासको समेत निन्दा गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी सेभेनलाई थप हवाई प्रतिरक्षा क्षमताका लागि आग्रह गरेका छन् । उनले उक्त गठबन्धनलाई युक्रेन–बेलारुस सीमामा एउटा अन्तर्राष्ट्रिय मिसनलाई साथ दिन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया