वीरगन्ज :

जीतपुरसिमरा उपमहानगरमा नदीजन्य ठेक्का नलाग्दा १४ करोडभन्दा बढीको राजस्व घाटा

श्रेणी : अर्थ

2 months
Pradeep Sah
1.7kViews
1291 Shares

बीरगन्ज,१६ वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चालु आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त गर्न नसकिँदा १४ करोड रुपैयाँभन्दा बढी राजस्व गुमेको छ।

पालिकाको मुख्य आन्तरिक आम्दानी स्रोत मानिने पसाह, बालगंगा र दुधौरा खोलाबाट बालुवा, गिट्टीलगायतका सामग्रीको उत्खनन तथा बिक्रीका लागि ठेक्का आह्वान गर्नुपर्ने भए पनि जनप्रतिनिधिहरूको उदासीनताका कारण ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन। आर्थिक वर्ष सकिन अढाई महिना मात्र बाँकी हुँदा समेत प्रक्रिया निष्क्रिय नै छ।

राजस्व प्रमुख राम शर्माका अनुसार, अघिल्ला वर्षहरूमा पालिकाले नदीजन्य ठेक्काबाट करोडौं आम्दानी गर्दै आएको थियो। उदाहरणस्वरूप, आर्थिक वर्ष २०७७/७८ मा १२ करोड ७६ लाख, २०७९/८० मा १ करोड ३८ लाख, र २०८०/८१ मा ५ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर यस वर्ष ठेक्का नहुँदा लाखौँ घनमिटर सामग्री चोरी निकासी भइरहेको छ।

ठेक्का नहुँदा निर्माण व्यवसायीहरू निजगढ र कोल्हबी नगरपालिका क्षेत्रबाट दोब्बर मूल्यमा सामग्री किन्न बाध्य छन्। निर्माण व्यवसायी अमर श्रेष्ठका अनुसार, सिमरा सस्तो औद्योगिक क्षेत्र, फास्ट ट्रयाक, र औद्योगिक कोरिडोरजस्ता राष्ट्रिय परियोजनामा असर परेको छ।

विकास निर्माणमा प्रयोग हुने सामग्री ठेक्कामार्फत उपलब्ध गराउनुपर्ने भए पनि जीतपुरसिमराले पछिल्ला तीन वर्षदेखि ठेक्का पूर्णता दिन सकेको छैन। अब वडा कार्यालयमार्फत जेठ मसान्तसम्मका लागि अमानतमा सामग्री संकलन गर्ने तयारी भइरहेको छ, यद्यपि विगतमा अमानत प्रक्रियामै व्यापक अनियमितता भएको उजुरीहरू थिए।

यता निजगढ र कोल्हबी नगरपालिकाले भने चालु आर्थिक वर्षको सुरु मै ठेक्का लगाएर आपूर्ति नियमित गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *