वीरगन्ज :

जीतपुरसिमरामा सडक सुरक्षा तथा ट्राफिक सप्ताह सुरु

श्रेणी : मधेस

2 months
Pradeep Sah
3.0kViews
1127 Shares

बारा,०८ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा सडक दुर्घटनाको न्यूनीकरण गर्ने उद्देश्यसहित सुरु भएको उक्त अभियानको उद्घाटन पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरे ।

कार्यक्रममा बोल्दै श्रेष्ठले ट्राफिक नियमको पालना सबै नागरिकको अनिवार्य कर्तव्य भएको उल्लेख गर्दै, सिफारिस र पहुँचको आधारमा नियम उल्लंघनलाई छुट दिने प्रवृत्तिले दुर्घटना बढाएको चेतावनी दिए। “जनप्रतिनिधि, नेता वा कर्मचारीबाट हुने सिफारिसको अन्त्य भएमा दुर्घटना उल्लेखनीय रूपमा घट्न सक्छ,” उनले भने।

कार्यक्रममा नगरप्रमुख राजन पौडेलले व्यवसायिक फर्महरूलाई आफ्नै पार्किङ्ग व्यवस्था गर्न सुझाव दिए । उनले निजी जग्गामा शुल्क लिएर पार्किङ्ग गर्न सकिने र अपर्याप्त जग्गा भएका स्थानमा उपमहानगरसँग समन्वय गरेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गरे । साथै, नयाँ भवन भाडामा लिँदा पार्किङ्ग सुविधा अनिवार्य रूपमा जाँच गर्न व्यवसायिक फर्मलाई आग्रह गरे।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले ट्राफिक नियमको उल्लंघनलाई अब सह्य नहुने बताए। “अब सम्झाउने समय सकियो, अब सिधै कारबाही हुन्छ,” उहाँको स्पष्ट चेतावनी थियो। सडक पेटीमा अव्यवस्थित सामान राख्ने बानीले समाजमा गलत सन्देश जाने उल्लेख गर्दै सबै नागरिक सचेत बन्नुपर्ने आवश्यकता औंल्याए।

नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवालले हरेक दिन सरदरमा ८ जनाले ट्राफिक दुर्घटनामा ज्यान गुमाइरहेको जानकारी दिए। दुर्घटनाको खबर सुन्न नपरोस भनेर आफूले भगवानसँग प्रार्थना गर्ने गरेको भावुक अभिव्यक्ति पनि दिए।

कार्यक्रम अन्तरगत सात दिनसम्म जनचेतनामूलक गतिविधिहरू, ट्राफिक शिक्षा र सडक सुरक्षा प्रवर्द्धनका विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। उद्घाटन कार्यक्रम नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मी, बारा प्रहरी उपरीक्षक सन्तोष तामाङ, सडक डिभिजन कार्यालय हेटौंडाका सिनियर डिभिजनल अधिकृत गुरु प्रसाद अधिकारी, डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झा, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी लगायतको उपस्थिति थियो।

सडक सुरक्षालाई सुदृढ गर्दै नियमित अनुगमन, जनचेतना र कडा कार्यान्वयनमार्फत ट्राफिक व्यवस्थालाई सुधार गर्ने उद्देश्यले ट्राफिक सप्ताह आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *