वीरगन्ज :

जीतपुरसिमरामा निजी विद्यालयलाई मनपरी पाठ्यपुस्तक परिवर्तनमा रोक

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.1kViews
1071 Shares

बारा,१७ चैत्र । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले संस्थागत (निजी) विद्यालयहरूलाई हरेक वर्ष मनपरी ढंगले पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत अभिभावकहरूबाट बढ्दो गुनासोलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ। पछिल्ला वर्षहरूमा एउटै विषयका पुस्तकहरू बारम्बार परिवर्तन गर्दा अभिभावकहरूमा अनावश्यक आर्थिक भार थपिएको गुनासो आएको थियो।

उपमहानगरका प्रमुख राजन पौडेल को निर्देशनअनुसार अब कुनै पनि निजी विद्यालयले उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ। यदि पाठ्यक्रम परिवर्तन वा अन्य आवश्यक कारणले पुस्तक फेर्नुपर्ने भएमा स्पष्ट आधारसहित अनुमति लिनुपर्नेछ।

यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमन गरिने जनाइएको छ। निर्देशन उल्लंघन गर्ने विद्यालयलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ। स्थानीय अभिभावकहरूले यो निर्णयले अनावश्यक खर्च नियन्त्रण गर्नुका साथै शैक्षिक क्षेत्रमा एकरूपता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *