वीरगन्ज :

जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

श्रेणी : BANNER

6 days
Pradeep Sah
2.9kViews
1883 Shares

जनकपुर,३० असाेज । मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। उनले आजै प्रदेश प्रमुखसमक्ष ५७ जना प्रदेश सांसदको हस्ताक्षरसहित ६ दलको समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।

सोनललाई समर्थन गर्ने दलहरूमा लोसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), जनस्वाराज पार्टी (जस्वपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू रहेको बताइएको छ। यो गठबन्धनले १०७ सदस्यीय प्रदेश सभामा बहुमत सुनिश्चित गरेको छ।

उता, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जनमत पार्टीका १३ सांसदको समर्थन रहेको भन्दै छुट्टै दाबी पेश गरेका थिए। तर जनमत पार्टीले औपचारिक रूपमा कांग्रेसको दाबी अस्वीकार गर्दै सोनलको पक्षमा समर्थन पत्र बुझाएपछि कांग्रेस–एमाले गठबन्धनको सरकार बनाउने योजना विफल भएको हो।

मुख्यमन्त्री नियुक्तिको क्रममा प्रदेश प्रमुख कार्यालय परिसरमा कांग्रेस र लोसपाका कार्यकर्ताबीच तनावपूर्ण स्थिति समेत देखिएको थियो। केही बेरको वादविवादपछि सुरक्षा निकायको उपस्थितिमा स्थिति नियन्त्रणमा आएको थियो।

यसबीच, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले आजै जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्। सिंह निर्वाचन आयोगमा सनाखत गर्न पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले रोक्न खोज्दा सामान्य झडप समेत भएको थियो।

नव नियुक्त मुख्यमन्त्री सोनलले बिहीबारै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारी गरेको उनका सचिवालयले जनाएको छ। उनले प्रदेशमा “स्थायित्व, सुशासन र विकासमुखी शासन” आफ्नो प्राथमिकता हुने बताएका छन्।

सोनल यसअघि प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत रहिसकेका छन्। उनी मधेश राजनीतिमा अनुभवी र सन्तुलित नेताका रूपमा चिनिन्छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *