
श्रेणी : मधेस
बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ मा जारी व्यापारी तथा सांस्कृतिक महोत्सवमा हिजो राति एक अनपेक्षित मोड आयो। भोजपुरी गायक सुनिल पण्डित आफ्नो प्रस्तुति दिइरहँदा प्रहरीले स्टेजमै चढेर माइक खोसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
के थियो माइक खोस्नुको कारण?
जिल्ला प्रशासन कार्यालय बाराले आयोजकलाई बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो। आयोजकले त्यसलाई केही हदसम्म बढाएर साँझ ८ बजेसम्मको मौखिक सहमति लिएका थिए। तर पनि शनिबार राति ९ बजेसम्म टिकट बिक्री भइरहेपछि प्रहरी एक्शनमा उत्रिएको हो।
इलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रालामा वाइबा आफैं स्टेजमा पुगेर माइक खोस्दै कार्यक्रम रोक्न लगाइन्। उनले स्पिकरको तार समेत झिकेर दर्शकलाई घर फर्किन आग्रह गरिन्।
किन यस्तो निर्णय?
प्रहरीका अनुसार निर्धारित समयभन्दा ढिलोसम्म कार्यक्रम चलेको र भिड नियन्त्रण बाहिर जाने सम्भावना देखिएकाले शान्ति सुरक्षालाई प्राथमिकता दिँदै कार्यक्रम रोकिएको हो।
यो घटनाले प्रशासनिक नियम उल्लंघन गर्दा कलाकार, आयोजक र दर्शक सबैलाई असर पर्ने देखाएको छ।

प्रतिक्रिया