
श्रेणी : अपराध
बीरगन्ज, २६ माघ । बाराको जितपुर सिमरा मामाघरबाट १० दिनअघि गत बिहीबारदेखि बेपत्ता रौतहटका एक बालकको आज शनिबार शव फेला परेको छ।
रौतहटको दुर्गा भवानी गाउँपालिका–१ का ३ बर्षीय हन्श चौधरी नाम गरेका बालकको शनिबार दिउँसो शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको शव बीरगन्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सीमानामा पर्ने टेढामा स्थित कियासोती खोलामा डुबेको अवस्थामा फेला परेको बताएका छन्।
बेपत्ता बालकको खोजी गर्न प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। घटनाले जितपुर सिमरा सिङ्गो नगर शोकमय वातावरण बनेको छ।
आफ्नो मामाघरबाट बेपत्ता बालकबारे जानकारी दिनेलाई पीडित परिवारले १ लाख रुपैयाँ इनाम दिने घोषणा गरेको थियो। त्यसैगरी बारा संसदीय क्षेत्र ४ का संघीय सांसद कृष्ण कुमार श्रेष्ठ किसानले बेपत्ता बालकको अवस्थाबारे सूचना दिने मानिसनाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिनेसमेत घोषणा गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बालकको पानीमा डुबेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान भए पनि पोष्टमार्टम रिपोर्ट आएपछि विस्तृत खुल्ने जानकारी दिएका छन्। मृतक बालक रौतहट दुर्गा भगवती–१ का रितेश जैसवालका छोरा थिए। उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगन्ज पठाइएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया