
श्रेणी : खेलकुद
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत स्कटल्याण्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनायो ।
उसका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै १०७ रनको अविजित रहे । टिमको स्कोर १११ हुँदा ६ विकेट गुमाएर धर्मराएको पारी ज्याक जार्विस र माइकल लिस्कले ८१ रनको साझेदारी गर्दै सम्हालेका थिए । जार्विस २६ रनमा आउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले ३, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एक एक विकेट हात पारे । नेपाल स्कटल्याण्डलाई पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन।
कीर्तिपुरखेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो। स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो। यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ।


प्रतिक्रिया