वीरगन्ज :

जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग

श्रेणी : धर्म संस्कृति

4 months
Pradeep Sah
2.6kViews
1766 Shares

जनकपुर,०७ वैशाख । जानकी नवमीलाई राष्ट्रिय स्तरमै महत्व दिनु पर्ने माग उठेको छ। रामानन्दीय वैष्णव संघले आइतबार पत्रकार सम्मेलन गर्दै जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग आग्रह गरेको हो।

संघका अध्यक्ष तथा जानकी मन्दिरका सहायक महन्थ रामरोसन दासले वैशाख २३ गते पर्ने जानकी नवमीको दिन बिदा दिन माग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र समेत बुझाएका छन्।

हाल प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक बिदा दिँदै आएको छ। तर जानकी (सीता) केवल प्रदेश सीमित पात्र नभई राष्ट्रिय गौरवको प्रतिक भएकाले यो पर्वलाई राष्ट्रिय मान्यतासहित मनाइनुपर्ने दासको भनाइ छ। उनले भने, “राम नवमी जस्तै जानकी नवमी पनि सम्पूर्ण देशको पर्व हो, त्यसैले राष्ट्रिय बिदा दिइनुपर्छ।”

महन्थ दासका अनुसार जानकी नवमीलाई धार्मिक र पर्यटकीय रुपमा जोडेर प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको छ। यस वर्ष जानकी नवमीको पर्व ९ दिनसम्म मनाइने तयारी छ। पहिलो दिन दूधमती नदीमा शाही स्नान गरिनेछ भने त्यसपछि प्रत्येक दिन रामायण पाठ र रामकथा सञ्चालन हुनेछ। धार्मिक गुरुहरूले राम र सीताको जीवन र शिक्षामाथि प्रवचन दिनेछन्।

मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गरिनेछ। साथै, विभिन्न मठ मन्दिरहरूले धार्मिक गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गरेर पर्वलाई भव्य रुपमा मनाउने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *