
श्रेणी : अपराध
जनकपुर,२५ असार । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष तथा पूर्व प्रदेशसभा सदस्य अशोक यादवमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विभिन्न छवटा राजनीतिक दलले कडा आपत्ति जनाएका छन्।
जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार पूर्वाधार विकास कार्यालयमा देखिएको अनियमितता, मोनोपोली, भ्रष्टाचार, झुठा मुद्दाका घटनाहरूको सम्बन्धमा पटकपटक जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित निकायहरूलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको बताइएको छ।
२०७९ असार १९ गते राति कार्यालयमा प्रहरी परिचालन गरेर मुख्य गेटमा ताल्चा लगाई कार्यालय सञ्चालन गरिएपछि सेवा लिन पुगेका नागरिक त्रसित भएका थिए। सो विषयमा बुझ्न अध्यक्ष यादवले जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई फोन गरेका बेला ‘मधेसी’ भनेर विभेदपूर्ण र हेपाहा व्यवहार गरिएको आरोप लगाइएको छ।
छ राजनीतिक दलद्वारा जारी विज्ञप्तिमा सो व्यवहार निन्दनीय, अपमानजनक र जातीय विभेदमा आधारित भएको ठहर गर्दै तत्काल यादवमाथि लगाइएको झुठा मुद्दा खारेज गर्न र जिल्ला प्रहरी प्रमुखलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।
त्यसका साथै घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न समेत जोडदार माग गरिएको छ।
दलहरूले अन्त्यमा चेतावनी दिँदै भनेका छन्, “यदि विभेदकारी मानसिकता नसच्चिए सडक संघर्षको बाटो अवलम्बन गर्न बाध्य हुनेछौं।”


प्रतिक्रिया