
श्रेणी : अर्थ
काठमाडौं,०५ जेठ । वैदेशिक रोजगारीमा रहेका नेपाली समर्थकहरूबाट उठाइँदै आएको शुल्क तथा लेवीमा अनियमितता भेटिएपछि जनमत पार्टीले विदेशबाट हुने आर्थिक संकलनमा पूर्ण प्रतिबन्ध लगाएको छ। डा. सिके राउत नेतृत्वको पार्टीको केन्द्रीय सचिवालय बैठकले हालै यस्तो निर्णय लिएको हो।
पार्टी स्रोतका अनुसार विगतमा गैरआवासीय मधेसी संघ (NRMA) मार्फत लेवी, सदस्यता शुल्क र चन्दा संकलन गरिँदै आएको थियो। संकलित रकमबाट काठमाडौंमा होटल खरिद तथा विभिन्न स्थानमा घरजग्गा किनिएको जानकारी बाहिरिएपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि र विवाद चर्किएको हो।
यही प्रकरणसँग सम्बन्धित रहेर पार्टीले उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही समेत गरेको छ। यादवमाथि आर्थिक अनियमितताको अभियोगमा मुद्दा चलाइएको थियो र उनी केही समय हिरासतमा बसेपछि हाल पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
पार्टीले अब आर्थिक पारदर्शिता सुनिश्चित गर्न र संगठनभित्र अनुशासन कायम राख्न सबै किसिमका लेवी, शुल्क तथा चन्दा संकलन स्थगन गर्ने निर्णय गरेको छ।
यस निर्णयको प्रभाव गैरआवासीय मधेसी संघ (NRMA) मा समेत परेको छ। हालै डा. राउतको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तर्राष्ट्रिय समितिको बैठक र त्यसपछि बसेको सचिवालय बैठकले कुनै पनि देशमा रहेका सदस्यहरूबाट शुल्क नलिने नीतिमा स्पष्ट निर्णय गरेको हो।
जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार अबदेखि केवल सदस्यता कार्ड छपाइका लागि लाग्ने खर्चबाहेक अन्य कुनै पनि रकम उठाइने छैन।
साथै, सदस्यहरूको विवरण अद्यावधिक गर्न आह्वान गरिएको छ। नागरिकताको आधारमा नाम, जिल्ला, पालिका र वडा स्पष्ट उल्लेख गरी सदस्यता फारम अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया