श्रेणी : BANNER
वीरगञ्ज, ८ फागुन । वीरगञ्ज महानगरपालिका–२३ मा राजनीतिक समीकरण फेरिएको छ। जनता समाजवादी पार्टी (जसपा) का वडा इकाइ अध्यक्षसहित करिब २५० जना स्थानीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेका छन्।
शुक्रबार बिहान प्रसौनी क्षेत्रमा आयोजित पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव, साथै नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादव लगायत ठूलो संख्यामा कार्यकर्ता एमालेमा आबद्ध भएका हुन्।
नवप्रवेशीहरूलाई एमालेका पर्सा–१ प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव ले अबिर–टिका लगाएर स्वागत गरेका थिए। उनले वडा नं. २३ मा नयाँ प्रवेशसँगै पार्टी संगठन थप बलियो हुने दाबी गरे।
सम्बोधनका क्रममा यादवले पछिल्लो राजनीतिक घटनाक्रमपछि मुलुकको संविधान र व्यवस्थामाथि चुनौती देखिएको उल्लेख गर्दै त्यसको रक्षा गर्न सक्ने शक्ति एमाले मात्र रहेको बताए। मधेस आन्दोलनबाट प्राप्त संघीयता र समावेशिताका उपलब्धिहरू जोगाउन एमाले सक्षम रहेको विश्वासका कारण धेरै कार्यकर्ता पार्टीमा आएको उनको भनाइ थियो।

उनले पर्सा–१ मा प्रतिस्पर्धामा रहेका केही उम्मेदवार जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्ति रहेको टिप्पणी गर्दै चुनावका बेला मात्र सक्रिय हुने प्रवृत्तिको आलोचना गरे। आफू भने विगतदेखि नै जनताको समस्यामा साथ दिँदै आएको दाबी गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरे।
कोरोना महामारी तथा खानेपानी संकटका बेला कसले काम गर्यो भन्ने मूल्यांकन गरेर मात्रै मतदान गर्न उनले मतदातासँग अपिल गरे। आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई रोज्नुपर्ने उनले बताए।
कार्यक्रम एमाले वडा कमिटी अध्यक्ष लालबाबु यादव को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहा लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।


प्रतिक्रिया