श्रेणी : राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन् ।
काठमाडौंको शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन् ।
‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला । तर, जनप्रतिनिधिको पद त छ नि मसँग । मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मिस्टिरै हुनुपर्ने छैन,’ सिंहले भने।
उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको पनि बताए। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो ।
‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ,’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसले निर्भर गर्छ।’
सिंहले आफू भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए ।
‘म पदमा भयो भने त तपाईंहरुलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरुले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला र? जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’
प्रतिक्रिया