
श्रेणी : प्रदेश
विराटनगर,३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको हितलाई केन्द्रमा राख्दै सत्तारूढ गठबन्धनसँग दुई बुँदे सहमति भएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्ने र संसद्मा अवरुद्ध विधेयकहरू पारित गर्न सहमति जुटेको जानकारी दिए।
अध्यक्ष दाहालका अनुसार, निजामती सेवा, शिक्षा र अन्य महत्त्वपूर्ण विधेयकहरू लामो समयदेखि रोकिएको अवस्थामा रहेकाले ती विधेयकहरूको छिटो पारित आवश्यक रहेकोमा सहमति भएको हो। यही कारण सदनमा देखिएको गतिरोध अन्त्य भएको उनको भनाइ छ।
सोही अवसरमा प्रचण्डले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रपतिहरूलाई फेरि पनि सक्रिय राजनीतिक भूमिकामा ल्याउने विषयमा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखे। उनले विगतमा मुलुकको नेतृत्व गरिसकेका व्यक्तिहरूको अनुभव र योगदानलाई उपयोग गर्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे।


प्रतिक्रिया