बीरगन्ज,१४ फागुन । फागुन १६ देखि १८ गतेसम्म जनकपुरमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ। महोत्सवका आयोजक संवाद फाउण्डेशन ले बुधबार पत्रकार सम्मेलनमार्फत सबै तयारी पूरा भएको जानकारी गराएको छ।
संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्कर का अनुसार महोत्सवले फिल्म साक्षरताको प्रवद्र्धन, नेपाली युवालाई प्रेरणा, र फिल्म निर्माता तथा कलाकारहरूबीच अनुभव आदानप्रदानको अवसर दिने उद्देश्य राखेको छ।
अध्यक्ष भास्करका अनुसार महोत्सवले स्थानीय र विश्व सिनेमा बीचको सेतुको रूपमा काम गर्नेछ, जसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने मात्र नभई अन्य देशका कथासँग पनि गहिरो सम्बन्ध जोड्नेछ। यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्यलाई सशक्त बनाउने विश्वास गरिएको छ।
यस महोत्सवका लागि १४४ भन्दा बढी देशका फिल्म निर्माता तथा कलाकारहरूबाट ३५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए। तीमध्ये १० विधाबाट छनोट गरिएका ७८ उत्कृष्ट फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। प्रत्येक विधामा सर्वोत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ।
जनकपुरस्थित मैथिली विकास कोषको सभा भवनमा फागुन १६ देखि १८ गतेसम्म आयोजना हुने महोत्सवले नेपाली फिल्म उद्योगलाई नयाँ सम्भावना र अन्तर्राष्ट्रिय पहिचान दिलाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया