
श्रेणी : BANNER
जनकपुर,२१ असार । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नयाँ कार्यालय जनकपुरधामको भानुचोकमा उद्घाटन गरिएको छ। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा मेयर साहले हरेक परिवर्तनमा पत्रकारहरूले पुर्याउँदै आएको भूमिकाको प्रशंसा गर्दै सञ्चारकर्मीहरूको सुदृढीकरणका लागि आवश्यक सहयोग गर्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।
कार्यक्रममा बोल्ने वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारहरूको हकहित र पत्रकारिता क्षेत्रको विकासमा जोड दिएका थिए। महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले नयाँ कार्यालय सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, पेशागत हित संरक्षण र सूचनाको प्रवाहलाई थप सुदृढ बनाउन योगदान गर्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा आगामी दिनमा पत्रकारहरूको तालिम, सूचना आदानप्रदान र पत्रकार हितका कार्यक्रमहरू नयाँ कार्यालयबाट सञ्चालन गरिने जानकारी पनि दिइएको थियो।
प्रदेश अध्यक्ष बन्जाराको अध्यक्षता र मेयर साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, महासंघका सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, धनुषा अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवणकुमार देव, बारा अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायतको उपस्थिति थियो।
कार्यक्रममा अतिथिहरूलाई प्रदेश सदस्य साजिर मन्सूरले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए भने कार्यक्रम महासंघ मधेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले सञ्चालन गरेका थिए।


प्रतिक्रिया