
श्रेणी : मधेस
वीरगंज, २८ असार — खानेपानी अभावले ग्रस्त वीरगंज महानगरपालिकाका विभिन्न बस्तीमा जगरनाथपुर गाउँपालिकाले ट्याक्टरमार्फत पानी पुर्याएर राहत दिएको छ।
कसैको ध्यान नपुगेका बस्तीहरूमा जब सरकारी संयन्त्रहरू मौन रहे, जगरनाथपुर गाउँपालिका स्वयं अगाडि आएर घर–घरमा पानी पुर्याएको दृश्य वीरगंजवासीका लागि आशाको किरण बनेको छ।
गाउँपालिका अध्यक्ष श्रीकान्त यादवका अनुसार, वीरगंजमा बसोबास गर्ने धेरै नागरिक पर्साका अन्य पालिकाबाट आएका हुनाले, संकटको बेला पालिकाबीचको सहयोग अपरिहार्य भएको बताए। “यो आपत्कालीन घडी हो, सबै मिलेर काम गर्नुपर्छ,” अध्यक्ष यादवले भने।
अध्यक्ष यादवका अनुसार, गाउँपालिकाको ट्याक्टरले केही दिनदेखि श्रीपुर र विद्यापति टोलमा पानी आपूर्ति गर्दै आएको छ।
कसैलाई पनि पानी नपुगेको खबर पाउने बित्तिकै संवेदनशीलताका साथ प्रतिक्रिया दिँदै, सहयोग पुर्याइएको हो।
यादवले अन्य पालिकाहरूलाई पनि आ–आफ्नो स्रोत र सामर्थ्य अनुसार संकट समाधानमा हातेमालो गर्न आह्वान गरेका छन्। “वीरगंजको पानी संकट केवल महानगरको मात्र होइन, हामी सबैको साझा समस्या हो,” उनले थपे।
गर्मी मौसमसँगै वीरगंजमा पानीको चरम अभाव देखिएको छ। धेरै बस्तीमा पानी वितरण नहुँदा नागरिकहरू हैरान छन्, तर उचित आपूर्ति प्रणाली अभाव, संवेदनशीलता र तयारीको कमी देखिएको भन्दै आलोचना समेत हुँदै आएको छ।
यसबीच जगरनाथपुर गाउँपालिकाको यो मानवीय पहलले स्थानिय तहमा उत्तरदायित्वबोध र सहकार्यको सन्देश दिएको छ। स्थानीयहरू पनि सहयोग र समन्वयमा आधारित यस्तो कामको खुलेर प्रशंसा गरिरहेका छन्।


प्रतिक्रिया