
श्रेणी : अपराध
रौतहट, २८ असार । रौतहटको माधवनारायण नगरपालिका–५ कटहरिया टोलकी ४१ वर्षीया प्रमिला देवी सहनी आफ्नै छोरीलाई प्रयोग गरी छिमेकीलाई झूटो आरोपमा फसाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेकी छन्।
प्रमिला देवीले छिमेकी महिला सुनिता देवी सहनीमाथि अपहरण, शरीर बन्धक र चेलिबेटी बेचबिखन जस्ता गम्भीर आरोप लगाउँदै कृतिम जाहेरी दर्ता गराउन खोजेकी थिइन्। तर, प्रहरी अनुसन्धानमा ती सबै आरोप काल्पनिक र मनगढन्ते ठहरिएपछि उनलाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, प्रमिला देवीले सुनिता देवीको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने नियतले घरमै गएर धम्की र गालीगलौज गर्ने जस्ता व्यवहारसमेत गरेकी थिइन्। पीडित पक्षले आरोप लगाएको छ कि यो सबै योजना वडा अध्यक्ष नरेन्द्र सहनीको उस्काहटमा गरिएको हो।
प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद लिएर प्रमिलाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। जाहेरीकर्ता मदन साह (रामप्रताप साह) ले राज्यलाई कानुनी प्रावधानअनुसार कडा कारबाही गर्न आग्रह गरेका छन्।
घटनाले स्थानीय क्षेत्रमा चासो र बहस सिर्जना गरेको छ। प्रहरी अनुसन्धान अझै जारी रहेको जनाइएको छ।


प्रतिक्रिया